काठमाडौं : सिनेमा “अन्जिला” यतिबेला सिनेमाघरहरुमा लागिरहेको छ । यसै सिनेमामा अन्जिलाको दाईको भुमिकामा देखिएका छन कलाकार सुमिन गुरुङ । सुमिन दर्शकको प्रतिक्रिया बुझ्न हल हलमा टिम सहित पुगेका थिए । यही क्रममा एक दर्शक आएर उनलाई अन्कमाल गर्दै भक्कानिए । एक कलाकारका लागि यो भन्दा खुसीको क्षण के नै होला र ! सुमिन पनि गदगद भए । उनलाई आफ्नो करिव एक दशक लामो कलाकारिताले दिएको सफलता नै यही लाग्यो ।

सुमिन पोखरामा रहदा स्टेजमार्फत दर्शक माझ देखिन्थे । रहरै रहरमाझ उनी चर्चित कमेडियन केदार प्रसाद घिमिरे (माग्ने बुढा) सिताराम कट्टेल (धुर्मुस)जस्ता हरुको कमेडी गर्थे र दर्शक हसाउथे । हुन त सिनेमा छायांकनको मुटु जस्तै थियो पोखरा । जुन ठाउँमा हुन्थ्यो त्यही सुटिङ स्थलमा जाने स्पोर्ट्स ब्वाईहरु संग मित्रता गास्ने र काममा सहयोग समेत गर्ने गर्थे सुमिन । यो क्रम लामै समय चल्यो । बिस्तारै उनलाई अभिनयको भोकले सताउन थाल्यो । सुटिङको मोहले नअघाएका उनी कलाकार बन्न भन्दै काठमाडौं लागे । काठमाडौं आएर उनले आधा दर्जन बढी टेलिसिरियलमा काम गरे ।

‘डिसेम्बर फल्स’ सिनेमा मार्फत उनले सिनेमामा पनि डेब्यु गरे । त्यस पश्चात् ‘मिलन’, ‘जय हो’, ‘गोर्खा वारियर’, ‘रंगी’ हुँदै ‘अन्जिला’सम्म आईपुग्दा उनले आधा दर्जन सिनेमामा काम गरिसकेका छन् । सलोन बस्नेत, आर्यन सिगदेल, केकी अधिकारी लगायतको साथ स्कृन सेयर गरेका उनी मिलन चाम्स र शोभित बस्नेत परिवार संग अलिक निकट देखिन्छन् ।
उनका टिकटकमा पनि छुट्टै फ्यान फलोअर्स छन् । भन्ने हरुले टिकटकको आलोचनामा नराम्रा कुरा भने पनि उनलाई टिकटक पनि राम्रो माध्यम हो जस्तो लाग्छ । कलाकारको छवि निर्माण गर्दै गर्दा उनलाई सिरियल देखि टिकटक सम्मका फ्यानले सिनेमामा साथ दिएका छन् भन्ने लागेको छ । आफुलाई कलाकारितामा कछुवा बन्न मन लाग्ने बताउने सुमिन खरायो बनेर ह्वात्तै चर्चामा आयो र हरायो बन्न मन नभएको सुनाउछन् ।















