काठमाडौं : दशैँ नजिक आउँदै थियो । विवाहको वर्षौ पछि जन्मिएकी छोरीलाई टीका जमरा लगाएर आशिर्वाद दिनु थियो । आमा बुवा श्रीमती र आफ्नासंग अलग्गिनुको पीडा पनि कम थिएन । तर यी सब भन्दा माथी पैसा हुने रहेछ भन्ने निचोडमा पुगेका थिए चित्रकार तथा कलाकार सरोज लामिछाने ।

महिनौको हस्पिटल बसाई, अनिदा रात मात्रै होइन रित्तिदै गरेको गोजीले पनि कही न कही पैसाको महत्व सिकाउदै थियो सरोजलाई । यही बिचमा उनलाइ राम्रो अफर आयो । त्यसैले दशैँको टीका लगाउन दुई चार दिन बाँकी रहदा उनी भने झोला बाधेर माल्दिभ्स लागेका थिए ।

पैसामात्रै कारण थिएन त्यता जानुमा सरोजका लागी । उनी शान्ती खोजिरहेका थिए । चित्रकलामा विभिन्न रेकर्ड राखेका आखामा पट्टि नै बाधेर पनि चित्र बनाउन सक्ने उनी अभिनय भन्दा पनि रङ्ग र आकृती सङ्गै खेल्न चाहन्थे गायब नै बनेर । यसको लागि नेपालमा रहदा मेसो मिलेको थिएन ।
उनी अभिनयमा पनि केही हद सम्म लोभी बन्दै थिए । एक सिनका लागि पनि अफर आउँदा उनी नाई भन्न नसक्ने भएका थिए । कही न कही आफुलाई नकारात्मक भुमिकामा पर्दामा देखिरहदा मन पनि भारी हुँदै गएको थियो । पेन्टिङमा चाहिने एकाग्रतामा यो पनि उनका लागि बाधक बन्दै थियो ।

माल्दिभ्समा त्यो पनि पाँचतारे होटलबाट चित्र बनाउन कै लागि निम्तो आउँदै गर्दा सरोजले नाई भन्नै सकेनन । नेपालमा उनको अवस्था पनि कहाँ जाउ कता जाउ शान्ती कता मिल्ला भनेझै भएको थियो । सम्बन्धका धागाहरुसङै आफू भित्रको कलात्मकतामा निखार ल्याउन उनी यी धागाको मोटाईलाई अझ खिरिलो र बलियो बनाउन पनि चाहिरहेका थिए । यही क्रममा उडे माल्दिभ्सका समुन्द्रहरु बिच रहेका सैयु मध्यको एक आईल्यान्डमा रहेको सियाम वर्ल्ड फाईभ स्टार होटल तर्फ ।

उनको सुरुवाती योजना लामै समय त्यतै रहने थियो । तर फेरि पनि चित्रकलामा अब्बलता हुँदा हुँदै पनि अभिनयको मोहले तानेका उनी त्यही अभिनय छुटेको महसुस गर्दै नेपाल फर्किएका छन् ।
त्यसो त उनले उता रहदा समुन्द्र नियाल्दै स्टार होटलको मज्जा लिदै खुब चित्र कोरे । आखामा पट्टि बाधेर बिश्वभरबाटै आफ्ना फ्यानको संख्या पनि बढाए । कतिपयलाई त रङ सङ खेल्न सिकाए पनि । यति मात्रै होईन उनले कमाउन पनि राम्रो कमाई गरे । तर मान्छेको मन न हो लोभी हुन्छ । जे छैन त्यसैको चाह बढ्छ । यही लोभले पनि हो उनी अहिले आफ्नै देश फर्किएका छन् ।

करिव पाँच माहिनामा उनका करिव करिव एक दर्जन सिनेमामा देखिने अवसर छुटेका छन् । तर उनलाई कैले फर्किने भन्दै सोधिरहने मेकरले उनका लागि अन्य सिनेमामा रोल राखेरै बसेका छन् । यती मात्र होईन कोही त उनैलाई भनेर कुरिरहेका पनि छन् ।
पहिला अनुपम खेरको डुब्स भनेर चिनिने सरोजको ब्यक्तित्व पछाडीको चित्रकार छवि बिस्तारै बाहिरै आउँदै थियो । त्यही बिच उनी अभिनयमा होमिन पुगे । केही समय तिलमिलाए पनि अब भने उनी नेपाल फर्किएका छन । आफुले पुज्ने रङ्गको कर्म सङै अभिनयमा पनि पासिङ सिन, मसलेदार चरित्र भन्दा केही सिरियस, केही अर्थपुर्ण र छाप छोड्ने रोलको अपेक्षा सहित ।















