Sur Cinema

‘जुना’को गीत ‘आमाको मुहार’ : बालविवाह पछि अस्मिताको जिवनमा आईपर्ने उतारचढाव

काठमाडौं : आगामी माघ २५ गतेबाट रिलिज हुने सिनेमा ‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ ।

विवाह गरेर गएपछि श्रीमानले दिने यातना, सासुको क्रुद्ध व्यवहारलाई गीतमा देखाइएको छ । गीत सिनेमाकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ । भिडियोमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतलाई समेटिएको छ । गीत जति मार्मिक छ, भिडियो उत्तिकै पीडादायी छ । गीतमा अस्मिताको अभिनय जीवन्त देख्न सकिन्छ ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको सिनेमाका निर्माता दीपकप्रसाद घिमिरे हुन् । सिनेमाका निर्देशक जीवन सेञ्चुरी हुन् ।

सिनेमामा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको सिनेमामा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।