Sur Cinema

गल्ती हजार हुन्छन् गुनगुनाउँदै बिहे भाको छैन गीतको विरोध !

दिक्षा कट्टेल

दिक्षा कट्टेल

काठमाडौँ : वर्षातमा उनी रुझ्दा, झरी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो मलाई
पानी बनूँ लाग्यो

श्री पुरुष ढकालका शब्दमा राम कृष्ण ढकालले गाएको अत्यन्तै चर्चित यो गीतका बाँकी शब्द नियालौँ ।
नौनी जस्तो शरीर उनको, सबै तिर रुझ्यो
कल्कलाउदो वैश रुझ्दा, काउकुती नै चल्यो।
रुझेका ती कोमल अङ्ग, हेरी रहूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो,
मलाई पानी बनूँ लाग्यो
कतिधेरै भाग्यमानी, त्यो वर्षीने पानी
छिल्लिएर गिज्याउँदै, गर्छ मनमानी
वर्षातको चाला देख्दा, लौन डाहा लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो,मलाई पानी बनूँ लाग्यो

यो गीत चल्दाको समय टेलिभिजन भन्दा रेडियो धेरै प्रचलन र पहुँचमा थियो । उक्त समय हरेक जसोका घर घरमा रेडियो दिनै भर घन्किन्थे पनि । र जहाँ सम्म मलाई याद छ यो गीत सुनेर कसैले पनि रेडियोको आवाज सानो बनाएन न त मिटर बटारेर आएको च्यानलको खोजी नै गरे । यो गीत हरेक घरमा हर दिन जसो बजिरह्यो बजिरह्यो ।

गोपाल योन्जनको शब्दमा रहेको गीतका शब्द पनि नियालौँ,

गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला
एक्लै तिमी न आऊ म मात्तिएको बेला
मेरा यी हातहरूले कहीँ घात गर्न सक्छ
अनि प्यारो गर्दा गर्दै पाप पनि गर्न सक्छ
रूपको के मूल्य हुन्छ, म पशु भएको बेला
एक्लै तिमी न आउम मात्तिएको बेला
कहीँ धर्म गर्ने निहुँमा बलिदान हुन नपाओस्
सम्पूर्ण अङ्ग बाँधी अत्याचार हुन नपाओस्
मेरा कामनाहरूले मलाई हराई दिन्छ
तिमी भन्दा तिम्रो यौवन कहीँ मन पराइदिन्छ
रक्षक मलाई नसम्झ, राक्षस भएको बेला
एक्लै तिमी न आउ म मात्तिएको बेला

नारायण गोपालले गाएको यो गीत असी र नब्बेको दशकका बिरलै व्यक्तिले सुन्न र गुनगुनाउन छुटाएका होलान् । गीत कर्णप्रिय हुनुपर्छ भन्ने जमानामा यो गीतले श्रोता माझ छुट्टै क्रेज बनाउन सफल भएको थियो । र, अझै पनि स्रोता माझ यो एक लोकप्रिय गीतको सूचीमा पर्छ ।

तिम्रा आँखाहरू झिमिक्क झिमिक्क गर्दथे
ताराहरू सँग ताल मिलाइ र जब म तिमिलाई चुम्दथे अनि तिम्रा आँखाहरू थुन्दथे र बत्ती बन्द र बत्ती बन्द
आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म आजकाल
आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म दुनियाँसँग दिनहुँ अनेकौँ निहुँ खोज्दछु म
तिमिलाई पाउने धोको छाडिसके तिमिले ढोको थुनेर गएपछि तिमिलाई पाउने धोको छाडिसके तिमिले ढोको थुनेर गएपछि
तर पनि आजकाल बिहान घाम उदाउँछ
राती ताराहरू चम्कन्छन् र बजारमा छ्यापछ्याप्ती सोमरस पाइन्छ कहिलेकाहीँ खाइन्छ, रमाइन्छ र भुलाइन्छ पनि
मलाइ दिइसकेको दिल अरूलाई तिमी नबेच
मलाइ अँगालो हालिसक्यौ अरूलाई अँगालो नहाल

योगेश्वर अमात्यको स्वर, शब्द र सङीत रहेको यो गीतका शब्दहरू पनि शालीन छैनन् । तर धेरैले मन पराए र यो गीत योगेश्वरलाई स्थापित गराउने मध्यको एक गीत बन्न पुग्यो । उनका प्राय गीत यस्तै यस्तै पनि छन् ।

माथि उल्लेखित गीतहरू उदाहरण मात्रै हुन जहाँ शृङ्गारिक शब्दलाई धुन र आवाजले शालीनता थापेर अश्लिल हुन बाट बचाएका छन् । होइन भने यी गीतहरूमा प्रयोग भएका शब्दमा मात्रै जाने हो भने कुनै पनि गीतका शब्द खुल्लमखुल्ला प्रयोग गर्न सकिने छैनन् । अझ भाव नियाल्ने हो भने त कुरा गरी साध्य हुन्न । तर प्रस्तुतिमा भएको सरलताले गर्दा गीतहरू कालझै बने ।

तीज गीत अश्लील बन्दै गएको र गीतमा शालीनता हराएको चर्चा चल्न थालेको छ । हुन पनि हेर्नै नसकिने दृश्य राखेर गीतका भिडियो निर्माण भएकै पनि छन् । तीन महिने सुई बोलको प्रीति आलेको गीत होस्, चाहे बिस्तारले पोल्यो, बिहे अघि दिन्न म जस्ता गीतहरू नै हरेक दिन जसो सार्वजनिक भइरहेका छन् । गीतमा प्रयोग हुने स्वर शब्द र सङीतलाई अहिले आएर भिडियोले अझ अश्लील बनाउन साथ दिइरहेको छ । कहिले कोरियोग्राफरले पेटिकोट लगाएर मोडल नचाउँछन् त कहिले तीज गीतमा बाथटवका दृश्य समेटिदिन्छन् । गीतलाई अझ खराब बनाउन भिडियोले अहम् भूमिका खेलेको यथार्थलाई नकार्न सकिँदैन । गीतमा कर्णप्रियता हराउँदै गएको छ भने हेरेर मनलाई कम र तनमा आगो सल्काउने गीत धेरै बन्न थालेका छन् ।

त्यसो त सिर्जना समाज अनुसार नै बन्ने हुन भन्ने गरिन्छ । कलियुगमा प्रवेश हुन लागेको भन्ने गरिएको समाज पनि पहिला झैँ शालीन छैन् । र, समाजकै छायाँका रूपमा बन्ने सिर्जनामा मात्र शालीनता खोज्ने हामी पनि मूर्ख नै हो। यसो भन्दै गर्दा पुरानो समय यस्ता गीत बन्दैन थिए भन्न खोजिएको पटक्कै होइन ।

पुरानो समयका कुमार बस्नेतका गीतहरू नियालौँ, लैबरी लै, उनकै छोरी तरुनी, छोरी भन्दा आमा तरुनी मात्रै होइन साइँली र माहिली पोईल गएछन् केही प्रतिनिधि गीत मात्रै हुन । उक्त समय पनि विरोध र समर्थन बिच यस्ता गायक र गीत स्थापित पनि भए ।

सामाजिक सन्जालमा विरोध गर्न कै लागि बनेको भिडले दिमाग कम र मोबाइलमा औला बेसी चलाउने गरेको पाइन्छ । त्यसैले होला ‘बिस्ताराले पोल्यो’ गीत र ‘छक्का पन्जा पाँच’को “बिहे भाको छैन” गीतलाई एउटै भाडोमा हालेर घ्यु निकालिने प्रयास भइरहेको छ । दही मथेर घ्यु निक्लिन्छ भन्ने थाह हुने कसैले पनि ठेकीमा तातो दूध पर्नासाथ मदानी खोजेर मोही पार्न सुरु गर्दैन । तर सन्जाले भिड अहिले तथ्य भन्दा सतहमा रहेर बिश्लेशण गर्न मन पराउँछ । र पिसिन पर्छ बिहे भाको छैन जस्ता गीतहरूले ।

गीतमा दीपक राज गिरी र दीपक शर्माको शब्द रहेको छ । गीतको बिहे भाको छैन म कुमार पनि हैन म भन्ने हरफलाई लिएर विरोध गर्न कै लागि बनेको भिडले विरोध गरिरहेको छ । तर यी शब्दलाई देख्नेहरुले अश्लील किन देखे त्यो चित्त नबुझ्ने पाटो रहेको छ ।

नेपालको कानुनले बिहे योग्य उमेर २० वर्ष तोकिदिएको छ । तर अधिकांश युवा तिसको आसपासमा विवाह गर्छन् । गाँस बास कपास र सहवासलाई प्राथमिक आवश्यकतामा समेटिएको छ । कानुनले पनि उमेर पुगेका युवा युवतिले आपसी सहमतिमा शारीरिक सम्बन्ध राख्न सक्ने बताएको छ । र विरोध गर्नेको सूची हेर्ने हो भने उनीहरू पनि आफू विवाह पछि शारीरिक सम्बन्ध राखौला भनेर कुरेर बसेको स्थिति देखिँदैन । ज्योति मगर खुलमखुला यो बारे तर्क बहस गर्दै हिँड्छिन् आफू कुमारी नभएको मात्रै होइन अरूको श्रीमान् मन पर्ने भन्छिन् तर उनलाई यो गीत भने फिटिक्कै मन परेको छैन । त्यसैले विरोधीको सूची ज्योति जस्तै पात्रले भरिएको छ भन्न सकिन्छ । गर्ने एउटा देखाउने अर्को र बोल्ने अझ अर्कै हुँदा यो गीतले अनाहकमा शब्दलाई लिएर विरोध खेपिरहन परेको छ ।

गीतले वैवाहिक सम्बन्ध स्थापना गर्नु अघिको भेटघाट पछिको कुराकानीलाई विषय बनाएको छ । अहिले जो कोही पनि आफ्नो सम्बन्धमा पारदर्शिता चाहन्छ । पुराना सम्बन्ध बारे खुलेर बहस गर्न चाहन्छन् । व्यक्तिगत जीवनमा सहजता सरलता र पारदर्शिता चाहने तर गीतका शब्दमा भने प्रश्न उठाएको अवस्था जायज देखिँदैन । यो गीतमा राम कृष्ण ढकाल, नारायण गोपाल, योगेश्वर अमात्यका गीतमा जस्तो गरी शब्द अलङ्कार प्रयोग गरिएको छैन जसले गीतको प्रस्तुतिमा ध्यान नदिने हो भने अश्लिल बन्ने सम्भावना रहन्छ । अझ अहिलेका तीज गीत भनिने रतेउली गीतमा जस्तो भिडियो र नृत्य स्टेप पनि हालिएको छैन् ।

यो गीत अन्य कुनै गीतसँग मिलेको चर्चा छ त्यो विषय उठाउन सकियो । सरकारी जागिर भन्दै निलो रङ मात्रै हालेर सरकारी पोसाकको मजाक बनाइएको बारे बोल्न पाइयो । आवाजमा दम नभएको सत्यता स्विकार्न पाइयो । तर, दुई लाइनलाई लिएर विरोध गर्नु भनेको विरोध नै नगरी बस्न नसक्ने बानी लाग्नु बाहेक अरू कुनै कारण छ जस्तो देखिँदैन ।