काठमाडौं : साउनको २५ गतेबाट छायांकनमा गएको सिनेमा ‘के घर के डेराः घर नम्बर २’को प्रदर्शन मिति तय गरिएको छ । वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले यो सिनेमा माघको ११ गतेबाट रिलिज हुने जानकारी दिएका छन् ।
छायांकन सुरु भएको एक साता पनि नवित्दै निर्माणपक्षले प्रदर्शन मिति फाइनल गरेको छ । सिनेमाको छायांकन एक महिनामा सक्ने योजना निर्माणपक्षको छ । दीपेन्द्र के खनालको निर्देशनमा बुद्दि सागरको कथा रहेको यो सिनेमालाई काठमाडौंका आसपासका क्षेत्रमा नै खिचिनेछ ।
सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।
सिनेमामा कृष्णबहादुर थापाको छायांकन छ । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भइरहेको यो सिनेमामा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमाको सह निर्माता ओम प्रकाश अग्रवाल र महेश किजु हुन् । ओएसआर डिजिटल सिनेमाको डिजिटल पार्टनर रहेको छ । सिनेमालाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।















