Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

घुम्ने बांसुरी अनि घुमाउने रमेश

काठमाडौं : आज हामी ट्राभलिङ फ्लुट अर्थात घुम्ने बांसुरीको कथा भन्दैछौ । एक बांसुरी जो हिमालको नजिक जान रमाउछ । प्रकृतिले यसरी लोभ्याउछ कि उ त्यहा पुगेर धुन बनेर गुन्जिन्छ । उ आज सम्म बढिमालिका, ढोरपाटन, कालापत्थर, बन्दिपुर, गोसाइँकुण्ड, दुधकुन्ड, हलेसी, च्छोरोल्पा, मकालु हिमालको काख हुदै कन्चनजङ्घा समिप लगायत धेरै स्थानमा पुगेर मिठो धुन बनेर गुन्जिसकेको छ । हिमाल मात्र होइन इलाम र पाँचथरका पहाड देखि जनकपुर तराई सम्म पनि यो बांसुरी पुगिसकेको छ ।

पाँचथर तुम्बेवा गाउपालिकाका रमेश खड्कालाई ट्रेकिङको बारे खासै ज्ञान थिएन । आज भन्दा करिव एक दशक अघि उनी साथीभाई संग मिलेर गोसाइँकुण्ड पुगे । पहिलो पटक हिमाललाई त्यति नजिकबाट नियाल्न पाएका उनले जिवन कै मिठो र फरक अनुभव सङ्गाले । र यही पहिलो यात्रा नै उनको घुम्ने दिनहरुको पहिलो खुट्किला बन्न पुग्यो ।

रमेशलाई गुनगुनाउन मन पर्ने । उनका भिनाजुले खुब राम्रो बांसुरी बजाउने । गाउने काम सौखको रुपमा पुरा गर्दै गरेका उनले बांसुरीलाई भने अध्ययनको विषय र अहिले प्रोफेसन पनि बनाएका छन् । बांसुरी मै आफुले डिप्लोमा गरेको बताउदै गर्दा उनले आफ्नो गायन खास नभएको भन्न भ्याए । तर उनको युट्युव च्यानलको भ्युज हेर्ने हो भने उनको आवाजलाई धेरै दर्शक श्रोताले मन पराएको प्रस्ट हुन्छ । स-साना नानीहरुलाई उनी गाउन पनि सिकाउछन् । यति मात्र होइन काठमाडौं उपत्यकाका धेरै स्कुल हरुमा संगीत शिक्षकको रुपमा कार्यरत छन उनी ।

घुम्नका लागि रमेशलाई गोसाइँकुण्ड यात्राले आकर्शित गर्यो । अझ त्यस्तो मनोरम स्थानमा पुगेर मनको नजिकको काम “बांसुरी बादन” गर्न पाए भन्ने पनि लाग्यो । र, जन्मियो ट्राभलिङ फ्लुट ।

यात्रामा बोक्नका लागि पनि सहज र प्रकृतिको काखमा संगीत भर्नुको आनन्द अझ बेग्लै । यसै कारण रमेश आफ्नो कामबाट फुर्सद मिलाएर घुम्न निस्किहाल्छन् आफ्नै प्यारो बासुरी बोकेर । आफ्नो पेशाले पनि अझ घुम्ने रहर पुरा गर्न सहयोग गरेको उनको बुझाई छ । घुमेर कमाउने त टाढाको कुरा कतिपटक साथीभाईको सहयोग लिएर पनि उनी घुम्न जाने गर्छन । हाल सम्मै पनि कमाईको सबै जसो खर्च उनले यात्रा गर्न कै लागि खर्चिएका छन् । मनको शान्तिका लागि उनी सम्झौता गर्न चाहदैनन् ।

बांसुरी बोकेर उनले नेपालका धेरै जिल्ला घुमिसकेका छन् । लकडाउनको समयमा उनले घुम्ने कामलाई तिब्र बनाए । र अहिले पनि निरन्तर गरिनै रहेका छन् । कार्यथलो काठमाडौं भएकोले यहा रहनुको बिकल्प छैन् । तर अलिक लामो समय यहाँ बस्न परे उनलाई घुटन हुन्छ । र डाडा काडा खोज्दै निस्किहाल्छन् ।

अब उनलाई अपर डोल्पा र हुम्ला घुम्न मन छ । यसरी एक शिक्षक जसले संगीत र पदयात्रालाई एक साथ अघि लगिरहेका छन ट्राभलिङ फ्लुट सिम्बोलिक नामबाट ।