Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कार्तिक ९ मा ‘गुन्यो चोलो’ : पोस्टरमा नाजिरको पिडा

काठमाडौं : सिनेमा ‘गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। सिनेमा यहीँ कार्तिक ९ अर्थात अक्टाेबर २५ बाट रिलिज हुने पक्का भएको छ ।

बिहीवार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै सिनेमाको रिलिज मिति घोषणा गरेको हो । नाजिरको लुक्स र पोस्टरले नै सिनेमाको कथावस्तु बोल्छ। सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस सिनेमामा पनि कडा मेहेनत गरेका छन भन्ने छनक पोस्टरबाटै मिल्छ । नाजिरले ‘गुन्यो चोलो- उर्फ गुलाबी’ कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए।

पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन् । उनले एउटा हातमा विग(नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन् । उनको शरीरमा कहिँ कतै चोटको निशान छ। उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ । नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार सिनेमामा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ ।

यस सिनेमालाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको सिनेमाले पारलैंङ्गिकताकाे कथालाई उठान गरेको छ । सिनेमामा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरको अलावा सिनेमामा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटाैला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ।

सिनेमाको सम्पुर्ण पोस्ट प्रोडक्सनकाे काम बाहिर गरिएको हो। सिनेमाको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड  म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ । सिनेमामा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम  मार्सेलो दि फ्रान्सिसीले गरेका छन् ।

नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो सिनेमा नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। सिनेमामा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ। सिनेमाको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन् भने अनुपम श्रेष्ठ सिनेमाका सहयोगी निर्माता हुन् । आलोक शुक्लाले खिचेको सिनेमामा लेखु सहयात्रीको गीत रचना रहेको छ ।