Sur Cinema

‘पुजार सार्की’को गीत ‘जाऊँ माया’ : मन छुने शब्दमा यथार्थवादी दृश्यहरू

काठमाडौं : यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली सिनेमा ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ। गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ।

यस अघि सिनेमाका रोमान्टिक गीतहरू सार्वजनिक भएका थिए भने यो गीतले दुःखका भावना व्यक्त गरेको छ। यस गीतमा बि. पाण्डेले शब्द रचना गरेका छन् भने केतन क्षेत्रीको स्वर रहेको छ। हाम्रो समाजका पात्रहरूले भोगिरहेका विभिन्न प्रकृतिका समस्याहरूलाई गीतको रूपमा रचना गर्न खप्पिस पाण्डेले मार्मिक शब्द लेखेका छन्। उनका शब्दलाई सुवास भुसालको सङ्गीत र केतन क्षेत्रीको स्वरले मन छुने बनाएको छ ।

यस सिनेमाका यसअघि सार्वजनिक ट्रेलर, टिजर, पोस्टर र गीतहरू अत्यधिक रुचाइएको छ। अझ ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निभाएको फरक भूमिकाको पनि चर्चा भइरहेको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ। सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस सिनेमामा अभिनय रहेको छ।

सिनेमालाई दिनेश राउतले निर्देशन गरेका छन् । सिनेमालाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो सिनेमाको कथा बिकास सुबेदीले लेखेका हुन भने नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ साथै अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। सिनेमाको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।