काठमाडौं : अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको सहकार्य रहने सिनेमा ‘रातो घेरा – द रेड सर्कल’को बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ। सत्य घटनामा आधारित यो सिनेमाको छायांकन असार २५ गतेदेखि सुरु हुँदैछ भने प्रदर्शन आगामी मंसिर १८ गते तय गरिएको छ।
निर्देशक अनिल बुढा मगरले सामाजिक र भावनात्मक कथामा आधारित सिनेमालाई सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित निर्माण गरिने बताए। विश्राम फिल्म्स प्रा.लि.को ब्यानरमा बन्ने सिनेमाको अधिकांश छायांकन काठमाडौं उपत्यकामा हुनेछ।
जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन निर्माता रहेको चलचित्रमा राजु स्याङ्तानको कथा तथा पटकथा, शिशिर बिसंखेको छायांकन तथा मनोज थापा मगर र सागर आले मगरको संगीत रहनेछ।
शुभमुहूर्त कार्यक्रममा दयाहाङ राई र मिरुना मगरले सत्य घटनामा आधारित फरक स्वादको सिनेमामा काम गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिए। निर्माण पक्षले पनि दर्शकले यस सिनेमामार्फत दमदार कथा, सशक्त अभिनय र नयाँ सिनेम्याटिक अनुभव पाउने विश्वास व्यक्त गरेको छ।















