काठमाडौं : उदय सुब्बाको निर्देशन रहेको सिनेमा ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमाले सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ सिनेमा हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो ।

सिनेमामा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ । सिनेमाको एक गीतमा विल्सनविक्रम राई, वर्षा शिवाकोटी र गीता ढुंगानालाई पनि देख्न सकिन्छ ।
अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा तारादेवी लिम्बूको लगानी छ । सिनेमामा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत, र राजु किरातीको द्वन्द्व निर्देशन छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।


















