Sur Cinema

‘पवित्र इनार’माथि नाँचेको प्रकरण : प्रकाश सपूतलाई मात्र गाली किन ?

काठमाडौं : दैनिकजसो कुनै न कुनै कुराले सामाजिक संजाल तातिरहेको हुन्छ। अब मंगलबारकै कुरा गर्ने हो भने दिउँसोतिरबाट एउटा विषयले खुब संजाल तातियो। उक्त विषय थियो बसन्तपुरको ‘पबित्र इनार’ माथि चढेर नाँचेको विषय।

इनारमाथि चढेर नाँच्ने कलाकार चाहिँ प्रकाश सपूत र जुना बिक हुन्। करिब ४ महिना अघि तीजलाई लक्षित गर्दै रिलिज गरिएको ‘कमाउने नि हो, रमाउने नि हो’ बोलको म्युजिक भिडियो बसन्तपुरमा छायांकन गरिएको थियो।

छायांकनका क्रममा सुटिङ हेर्न गएका एक दर्शकले उक्त भिडियो खिचेका रहेछन्। त्यति बेला खिचेको सुटिङ गर्दैगर्दाको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको हो। भिडियो हेर्दा प्रकाश र जुना बसन्तपुर स्थित कुमारी घर नजिकैको इनारमाथि उभिएर नाचिरहेको दृश्य स्पष्ट देख्न सकिन्छ।

जीवित देवी कुमारीको लागि पानी ल्याउन प्रयोग हुने इनारमा जुत्ता लगाएर नाचेको र नेवाः सभ्यता एवम् संस्कृतिमाथि निकै ठुलो अपमान गरेको भन्दै सम्बन्धित समुदायले प्रकाशको निकै आलोचना समेत गर्‍यो। धेरैले टीका टिप्पणी गरे। धेरैले आ-आफ्नो धारणा राखे।

सबैको धारणा हेर्दा प्रकाशलाई आलोचना गरेको पाइयो। प्रकाशलाई नै गालीगलौज गरेका स्टाटस तथा कमेन्टहरु मंगलबारदेखि आइरहेका छन्। प्रायः विवादमा आइरहने प्रकाशले अर्को विवाद आफैले मच्चाएको भन्दै कतिपयले आरोप समेत लगाइरहेका छन्।

विवादबाट पन्छिन प्रकाशले मंगलबारनै एक मिडियाबाट माफी मागिसकेका छन्। अन्जानमा इनारमाथि नाचिएको र उक्त दृश्य नराखिएको भन्दै माफी मागेका समाचारहरु पनि मंगलबार नै आए। तर युट्युबमा गएर गीतको भिडियो हेर्ने हो भने उक्त इनारमाथि नाचेको दृश्य अझै छ। यत्ति होकि, इनारलाई देखाइएको छैन तर दृश्य उहीँ हो।

‘पवित्र इनार’माथि नाच्नु, नाचेको भिडियो क्लिप्स भाइरल हुनु, प्रकाश सपुतले आलोचनासँगै अधिक गाली पाउनु अनि गालीबाट पन्छिन प्रकाशले माफी माग्नु’ समग्रमा मंगलबारको दिउँसोदेखि रातिसम्म सामाजिक संजाल नियाल्ने हो भने यतिनै सारांश भेट्न सकिन्छ। जब कि प्रकाशसँगै जुना पनि नाँचेकी छिन्। तर उनको कत्तिपनि आलोचना भएन।

अब यति भनिरहँदा जुनालाई पनि विवादमा ल्याएर गाली खुवाउनुपर्छ भन्ने मनसाय चाहिँ होइन। कुरा के हो भने, उक्त इनारमाथि प्रकाशले जिद्दी गरेर नाँच्न गएका त पक्कै होइनन् होला ? प्रकाशलाई इनारमा चढाएर नचाउने काम त म्युजिक भिडियो निर्देशकले गरे होलान्, होइन र ?

एउटा म्युजिक भिडियो छायांकन सेटको मुख्य व्यक्ति भनेको निर्देशक हो। निर्देशकले जुन लोकेसनमा, जुन एंगलमा, जुन कथामा, जुन शैलीमा नचाउँछन् वा अभिनय गराउँछन् त्यही अनुरुप कलाकारहरु नाँच्ने हुन् अनि अभिनय गर्नेहुन्। तर यत्ति कुरा बुझ्न नेपाली दर्शक एवम् आलोचकलाई किन गाह्रो ?

इनारमाथि नचाउने काम निर्देशन शंकर बिसीले गरे। यसमा त शंकरकै मुख्य गल्ती छ। इनारमाथि टेकेर नचाउन हुन्छ वा हुँदैन भने अध्ययन गर्नुपर्छ कि नाइँ शंकरले ? अध्ययन गर्ने समय नभएपनि सुटिङ हेर्ने त्यत्रो दर्शकहरु छन्, उनीहरुलाई सोध्नु पर्ने थियो कि नाइँ ?

अनि अहिले आएर प्रकाशलाई मात्र गाली गर्न मिल्छ र ? पहिलो गल्ती त निर्देशकले गरे, दोस्रो गल्ती प्रकाशले गरे अनि तेस्रो गल्ती चाहिँ प्रकाशलाई मात्र गाली गर्नेहरुले गरे। किनभने, गल्ती त भिडियोका निर्देशक शंकर बिसी अनि नाँच्ने कलाकार प्रकाश र जुनाको बराबरी छ नि, होइन र ? अनि गाली किन एकजनालाई मात्र ?

मुख्य कुरा त इनारमाथि निर्देशकले कलाकारलाई नचाउनु हुन्थेन। निर्देशकले इनारमाथि नाच्न निर्देशन दिएपनि कलाकारले एकपटक सोच्नुपर्थ्यो। तर त्यसो भएन। निर्देशकले नचाए, कलाकार नाँचे। यहाँनेर ठूलो गल्ती सबैको भयो। तर मिडियामा प्रकाशको मात्र गल्ती देखाउँदै समाचार प्रकाशित भए। अनि संजालमा प्रकाशलाई मात्र गालीको ओइरो आयो, आलोचना भयो। सबैको गल्ती हुँदा सबैलाई आलोचना नगरेर प्रकाशलाई मात्र गाली गर्नु चाहिँ पक्कै उचित  होइन।

जे होस्, इनारमा नचाउनु अनि नाँच्नु हुन्थेन। प्रकाशको टिमले गल्ती गरेकै हो। तर पनि प्रकाशले आफ्नो गल्ती महशुस गरेर माफी मागिसकेका छन्। जुन निकै महान कुरा हो। जहाँसम्म लाग्छ आउने दिनहरुमा अब प्रकाशले यस्ता कुरामा ख्याल पुर्‍याउने छन्।

यद्यपि यस् विषयमा म्युजिक भिडियो निर्माण तथा वितरण गरेको कम्पनी ‘शुभारम्भ डिजिटल’ले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै माफी मागिसकेको छ। नियतबस गलत कार्य नगरेको र उक्त कार्यले पारेको असरप्रति क्षमा मागेको विज्ञप्तिमा उल्लेख छ।