Sur Cinema

महानायकको नेपालगन्जमा ठट्टा : हिडेरै काठमाडौं पुगिन्छ कि !

नेपालगन्ज : त्यसो त प्रायः हरेक वर्षको ‘नेपालगन्ज म्याराथन’मा महानायक राजेश हमालको सहभागीता रहनेगर्छ। यस वर्षको म्याराथनमा पनि महानायकको उपस्तिथि रह्यो।

शनिबार नेपालगन्जमा सम्पन्न ‘९ औं नेपालगन्ज म्याराथन’मा हमाल पत्नी मधु भट्टराईको साथमा उपस्थित थिए। उनको आगमनले म्याराथनको रौनक बेग्लै थियो। जब हमालले स्टेज उक्लिएर ‘हेल्लो नेपालगन्ज’ भने, तब एकै स्वरमा उनको लागि खेलाडी लगायत उपस्थित सबैको हुटिङ थियो।

नेपालगन्जसँग बेग्लै आत्मीयता रहेको बताउँदै खेलाडीको हौसला बढाउनको लागि हमाल २ किलोमिटर हिडेका थिए। हमालसँग उनकी पत्नी मधु लगायत अन्य व्यक्तिहरु पनि हिडेका थिए। रोचक कुरा त के देख्न सकिन्थ्यो भने हमाल हिडेको पनि अन्यले दौडिएर भेटाउन सकेका थिएनन्।

फटाफट नेपालगन्जको बिपी चोकदेखि धम्बोझी चोक पुगेर बिपी चोक फर्किएका उनलाई सुरसिनेमाकर्मीले हिड्दाहिड्दै केही प्रश्न गरेका थिए। ‘कति किलोमीटर हिड्ने तयारीमा हुनुहुन्छ ?’, भन्ने प्रश्नमा हमालले ठट्टा गर्दै भने, ‘हेरौं काठमाडौंसम्म पुगिन्छ कि। काठमाडौं जाने बाटो यही हो।’

उनको यस्तो ठट्यौली जवाफले माहोल रमाइलो पनि बनेको थियो। जे होस्, न दौडिए पनि हिडेर खेलाडीको हौसला महानायकले बढाएका थिए। उसो त, हमाल शारीरिक व्यायाममा विशेष ध्यान दिने कलाकार हुन्। जसले गर्दा उनको शरीर फिट रहेको छ।