नेपालगन्ज : गायक हुँदै नायक बनेका प्रकाश सपूत नेपाली दर्शकमाझ निकै लोकप्रिय कलाकार भनेर चिनिन्छन् । उनलाई नचिन्ने नेपाली दर्शक सायदै होलान्। दर्शकको अधिक मायाले उनी गायनमा निकै सफल छन्। अब भने प्रकाश गायनसँगै नायक भन्ने दौडमा होमिएका छन्।
उनले नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’बाट सिनेमामा नायकको रुपमा डेव्यू गरेका छन्। जुन सिनेमा आगामी असोज २६ गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ। यही सिनेमाको प्रचारप्रसारमा प्रकाश निकै व्यस्त छन्।
प्रचारप्रसारकै लागि प्रकाश यतिबेला नेपालगन्जमा छन् । शनिबार नेपालगन्जमा दुई सिनेमा हलमा दर्शकसँग साक्षातकार गरेपछि उनी एक कार्यक्रममा पुगेका थिए। प्याबसन बाँकेले आयोजना गरेको लोक नृत्य कार्यक्रममा जब प्रकाश पुगे उनलाई फ्यानले हल बाहिर घेरे।

उनीसँग सेल्फी लिनको लागि उनका फ्यानहरु तछाडमछाडमा थिए। कतिले सेल्फी लिन पाए कतिले पाएनन्। किनकी भिड धेरै थियो। जब सेल्फी लिँदालिँदै एक हुल विद्यार्थीहरुको जमातले ‘प्रकाश सपूत हाइहाइ, प्रकाश सपूत जिन्दावाद’ भन्दै नारा लगाउन थाले भिड झन् बढ्यो। माहोल साँच्चिकै गजबको देखिएको थियो।
फ्यानहरुले घेरिएका प्रकाश निकै खुशी देखिन्थे। सेल्फी लिन आउने हरेक फ्यानलाई उनले ‘परदेशी २ असोज २६ है’ भन्दै सिनेमा हेर्न हलमा आउन आग्रह समेत गरिरहेका थिए। त्यसो त, उनलाई हेर्नको लागि उनका शुभचिन्तकहरुको पनि उपस्तिथि रहेको थियो।
प्याबसनको उक्त कार्यक्रममा ‘परदेशी २’ कि नायिका केकी अधिकारी र निर्देशक नारायण रायमाझी समेत उपस्थित थिए।

















