काठमाडौं : कुमार गजुरेल निर्देशित नेपाली सिनेमा ‘सारथी’को ट्रेलर सार्वजनिक भएको छ। बानेश्वरस्थित एनबी सेन्टरमा आयोजित कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।
म्याग्दीको दुर्गम गुर्जा गाउँमा छायांकन गरिएको सिनेमाले आमा र छोराबीचको भावनात्मक सम्बन्ध तथा संघर्षको कथा प्रस्तुत गर्छ। ट्रेलरमा निरुता सिंहलाई छोराको सारथी बनेकी आमाको भूमिकामा देख्न सकिन्छ भने गिरी विश्वकर्माले छोराको भूमिका निर्वाह गरेका छन्।
लामो समयपछि पर्दामा फर्किएका उत्तम प्रधान र नवअभिनेत्री गायत्री जोशीको भूमिकालाई ट्रेलरमा रहस्यमयी बनाइएको छ। निरुताको भावपूर्ण अभिनय र ‘एउटा हात तिम्रो अघि सारथी बनेर रहिरहनेछ’ भन्ने संवाद ट्रेलरको आकर्षण बनेको छ।
निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको सिनेमा यही मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ। सिनेमामा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठलगायत कलाकारको अभिनय छ। आरआर फिल्म्सले वितरण गर्ने सिनेमाको सम्पूर्ण छायांकन गुर्जा क्षेत्रमा गरिएको हो।


















