काठमाडौं : शिवम अधिकारीको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमा ‘सेतो कोट’को शुभमुहूर्त गरिएको छ। कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा पूजाआजापछि आयोजित कार्यक्रममा सिनेमाको मुहूर्त सट लिइएको हो।
मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले संवाद बोलेका थिए भने नीर शाहले निर्देशन गरेका थिए। शोभित बस्नेतले क्ल्याप दिएका थिए। मिनु शर्मा प्रोडक्सनको ब्यानरमा बन्ने सिनेमामा नीर शाह, अशोक दर्जी, पूजा शर्मा, सुमित्रा दाहाल, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवल्दार’, सुशान्त श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापालगायतको अभिनय रहनेछ। यसै सिनेमाबाट ‘माइली बुहारी’ नामले परिचित सुमित्रा दाहालले अभिनयमा डेब्यु गर्दैछिन्।
मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्। सामाजिक यथार्थ, मौलिकता र भावनात्मक कथालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखिएको सिनेमाको छायाङ्कन काठमाडौं, मकवानपुरलगायत ग्रामीण भेगमा गरिनेछ।सिनेमाको छायाङ्कन सौरभ लामा, सम्पादन बन्दे प्रसाद र सङ्गीत स्टिभ शङ्करको रहनेछ।


















