Sur Cinema

प्रेमकथामा महेश र सिम्रन, ‘छायाँको जीत’को शुभारम्भ

काठमाडौं : अभिनेता महेश त्रिपाठी र अभिनेत्री सिम्रन खड्काको मुख्य भूमिका रहने सिनेमा ‘छायाँको जीत’को शुभमुहूर्त गरिएको छ। मंगलबार काठमाडौंस्थित मैतिदेवी मन्दिरमा क्यामेरा तथा पटकथा पूजा गर्दै सिनेमाको औपचारिक सुरुवात गरिएको हो।

भारतीय निर्देशक शिव शोहितको निर्देशनमा बन्ने सिनेमा विशुद्ध प्रेमकथामा आधारित हुनेछ। जिथ्रीएस फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमामा महेश र सिम्रनसँगै विजय देउजा, इच्छा सिंह, कविता आले, सुदीप पौडेललगायत कलाकारको अभिनय रहनेछ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी मंसिर ४ गतेदेखि सुरु हुनेछ। ३० दिनको छायांकन तालिका रहेको सिनेमा काठमाडौं उपत्यकामा खिचिनेछ। सिनेमाको कथा तथा पटकथा निर्देशक शोहित स्वयंले तयार पारेका हुन्।

सुदीप पौडेल निर्माता र अनुप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा उत्सव दाहालको छायांकन, योगेश काजी र शिव शोहितको संगीत तथा भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।