काठमाडौं : मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘जलाकी’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँचपास समितिले सिनेमालाई युनिभर्सल प्रमाणपत्र दिएसँगै अब सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।
‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमामा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन्। मगर समुदायको संस्कार, संस्कृति र आस्थालाई प्रेमकथामार्फत प्रस्तुत गरिएको सिनेमामा उपासना र सोनमको प्रेम मुख्य विषयवस्तु रहेको निर्देशकले बताएका छन्।
सिनेमाको ट्रेलर तथा ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमामा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ। सिनेमालाई काफिया फिल्मस् र कुबेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्।


















