Sur Cinema

‘पच्चीस पच्चीस’मा नयाँ र पुराना कलाकारको जमघट

काठमाडौं : कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘पच्चीस पच्चीस’को कलाकार लाइनअप पूरा भएको छ। सुब्रत आचार्यको निर्देशनमा बन्ने सिनेमा छिट्टै छायांकनमा जाने तयारीमा छ।

सिनेमामा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ। दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर भक्ते भाइले यसै सिनेमाबाट अभिनयमा डेब्यु गर्दैछन्।

सामाजिक–कमेडी विधामा निर्माण हुने सिनेमाको कथा सुब्रत आचार्य र जयाले लेखेका हुन् भने पटकथा सुशील देवकोटाको छ। छायांकन निर्देशन हरि हुमागाईंको रहनेछ। निर्देशक आचार्यको यो तेस्रो सिनेमा हो। उनले यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए।

सिनेमाका निर्माता कर्ण कार्की हुन्। ‘होस्टेल ३’बाट निर्माणमा आएका कार्कीको यो दोस्रो सिनेमा हो। दीपेन्द्र गौतम कार्यकारी निर्माता रहेको सिनेमामा धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सह–निर्माता छन्।