काठमाडौं : गायिका ममता गुरुङको नयाँ गीत ‘ङोलो राजा–माया लाउनु मिल्ला कि नमिल्ला ?’ सार्वजनिक भएको छ। मबिन्द्र राईको शब्द तथा संगीत रहेको गीतमा बिजु कर्मचार्यको ब्याकग्राउण्ड संगीत सुन्न सकिन्छ।
गीतको भिडियोमा ममता स्वयं हृदय गुरुङसँग रोमान्टिक अवतारमा प्रस्तुत भएकी छन्। केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो पोखराको धम्पुस गाउँमा छायांकन गरिएको हो। अमन बडुले छायांकन गरेको गीत ममताको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
नेपाल आइडल सिजन ३ बाट परिचित ममता आठ वर्षको उमेरदेखि गायनमा सक्रिय छिन्। नेपाली चलचित्रका गीत, स्टुडियो रेकर्डिङ तथा लाइभ प्रस्तुतिमा समेत सक्रिय उनले नेपाली र गुरुङ भाषाको मिश्रणसहित ‘ङोलो राजा’मार्फत फरक सांगीतिक स्वाद पस्केकी छन्। यसअघि उनको गुरुङ भाषाको गीत ‘टपारे फुलफुल्यो’ सार्वजनिक भएको थियो।


















