काठमाडौं : हास्यप्रधान सिनेमा ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। सिनेमा आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउँदैछ।
सार्वजनिक ट्रेलरमा कुलेबारी गाउँमा अस्पताल निर्माण गर्न गाउँलेले गर्ने विभिन्न प्रयासलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ। अस्पताल बनाउन कतिपयले बैंक लुट्ने योजनासमेत बनाएको ट्रेलरमा देखिन्छ।
सिनेमामा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के र मनोज गजुरेललगायत कलाकारको अभिनय छ। ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार गौरी मल्लले सिनेमालाई अन्यभन्दा फरक बनाउने प्रयास गरिएको बताइन्। त्यस्तै, मनोज गजुरेलले लामो समयपछि सिनेमामा फर्किन पाएको र ‘ककाकिकी’ आफ्नो दोस्रो सिनेमा भएको जानकारी दिए।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको सिनेमाका लेखक बिक्की अग्रवाल, सरोज भण्डारी र विकास अर्याल हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको सिनेमाको डीओपी सुदीप बराल हुन्।
सुरुमा भदौ १९ गते प्रदर्शन गर्ने तयारी गरिएको सिनेमा बाढीपहिरोका कारण मंसिर ११ गतेलाई सारिएको थियो। सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटल र अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले लिएका छन्।


















