Sur Cinema

दुर्घटनाले खोसेको ‘जलाकी’को भूमिका, भाग्यले फेरि सोनमलाई नै जुरायो!

काठमाडौं : समय र नियतिको खेल पनि विचित्र हुन्छ । सन् २०२५ जुनमा सिनेमा ‘ऐरी’को एक्सन दृश्य छायांकनका क्रममा ढोरपाटनमा दुर्घटनामा परेर देब्रे खुट्टा भाँचिएपछि अभिनेता सोनम तोप्देनले सिनेमा ‘जलाकी’को मुख्य भूमिका गुमाएका थिए । तर, संयोगवश उनी पुनः त्यही सिनेमामा मुख्य अभिनेताका रूपमा फर्किन सफल भए ।

चोटका कारण सोनम बाहिरिएपछि निर्माण टिमले धीरज मगरलाई मुख्य भूमिकामा अनुबन्ध गरेको थियो । लामो फिजियोथेरापीपछि सोनमको स्वास्थ्यमा सुधार आउँदै गर्दा निर्देशक अशोक थापा मगरले उनलाई सहायक भूमिकाको प्रस्ताव गरे । छायांकन तालिका लम्बिँदै जाँदा सोनम पूर्ण रूपमा स्वस्थ भए । अन्ततः निर्माण टिम र धीरजबीचको आपसी समझदारीमा उनी पुनः मुख्य भूमिकामा फर्किए ।

‘सायद यो कथा र पात्र मेरै भाग्यमा लेखिएको रहेछ, म फेरि फर्किएँ,’ सोनम भन्छन् । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने ‘जलाकी’मा उनले ‘लाजिम’को भूमिका निर्वाह गरेका छन् । अभिनयसँगै उनले चलचित्रमा पार्श्व गायनसमेत गरेका छन् ।

‘शाम्बाला’बाट दर्शकको ध्यान खिचेका सोनम ‘सम्हालिन्छ कहिले मन’मार्फत नेपाली सिनेमामा प्रवेश गरेका हुन् । भारतको मनालीमा जन्मिएका उनी नेपाली भाषा, कला र संस्कृतिसँग अझ नजिकिने माध्यमका रूपमा ‘जलाकी’लाई लिन्छन् ।

मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा आधारित अर्गानिक प्रेमकथा रहेको सोनमको भनाइ छ । सिनेमामा उनीसँगै उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन् ।त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाको निर्देशन अशोक थापा मगरले गरेका हुन् ।