Sur Cinema

नयाँ अनुहारदेखि स्थापित कलाकारसम्म, यस्तो बन्यो ‘सारथी’को पोस्टर

काठमाडौं : नेपाली सिनेमा ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको सिनेमा आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

सार्वजनिक पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली सौन्दर्यसँगै सिनेमाका मुख्य पात्रलाई प्रस्तुत गरिएको छ। सिनेमाबाट गिरि विश्वकर्मा र गायत्री जोशीले नायक–नायिकाका रूपमा डेब्यु गर्दैछन्। त्यस्तै, करिब दुई दशकपछि अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानलाई एउटै सिनेमामा देख्न पाइनेछ।

सिनेमामा निरुता, उत्तम, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा र गायत्री जोशीसहित अन्य कलाकारको अभिनय छ। किम्भे प्रोडक्सन र धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमामा संकल्प भुजेलको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन छ। बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ।

म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको सिनेमाले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनाका विषयलाई समेटेको निर्माण पक्षले जनाएको छ। ‘सारथी’ मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ।