काठमाडौं : सिनेमा ‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ले दर्शकको मन जितिरहेको छ । सार्वजनिक भएको पाँच दिनमै गीतले युट्युबमा २३ लाखभन्दा बढी भ्युज पाएको छ भने टिकटकमा २० हजारभन्दा बढी भिडियो बनेका छन् ।
प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा प्रशान्तकै संगीत तथा सुरज गैरे विवशको शब्द छ । प्रेमिल भाव समेटिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली देखिएका छन् । उनीहरूको नृत्यलाई समेत दर्शकले रुचाएका छन् ।
सरोज पौडेलको निर्देशनमा बनेको सिनेमामा विजय र अञ्जनासहित विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ । ‘पूर्णबहादुरको सारङ्गी’पछि विजय र अञ्जनाको दोस्रो सहकार्य रहेको सिनेमा मंसिर १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यसको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ ।


















