काठमाडौं : रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलु बक्स अफिसमा ७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। आइतबारसम्म ५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको सिनेमाले मंगलबारसम्ममा ७ करोडको आँकडा पार गरेको हो।
निर्माता मणिराम पोखरेलले मंगलबारसम्म सिनेमाले देशभरबाट ७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको जानकारी दिएका छन्। प्रदर्शनको सुरुवातदेखि नै आक्रामक व्यापार गरिरहेको सिनेमाले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। हलमा दर्शकको चाप बढ्दो छ भने अधिकांश शो हाउसफुल भइरहेका छन्।
आज बिहानसम्म सिनेमाका ६० भन्दा बढी शो हाउसफुल भइसकेका छन्। आज र भोलि देशभरका हलमा टिकटमा सहुलियत दिइने भएकाले व्यापार थप बढ्ने अपेक्षा गरिएको छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपिन कार्की, मिरुना मगर, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ। सिनेमाका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन्।


















