Sur Cinema

सिने कर्ममा सरोजको फराकिलो यात्रा

काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा सरोज दाहाल बहुआयामिक प्रतिभाका रूपमा परिचित छन्। लेखन, निर्देशन, सम्पादनदेखि अभिनयसम्म आफ्नो क्षमता प्रस्तुत गर्दै आएका दाहाल चलचित्रका विभिन्न विधामा दख्खल राख्छन्। दर्शकको मनोभावना बुझेर कथा तयार पार्ने र त्यसलाई पर्दामा प्रभावकारी रूपमा उतार्ने कला उनीसँग छ।

सन् २०१६ देखि चलचित्र क्षेत्रमा सक्रिय दाहालले ‘बिल्ला’, ‘गीत’, ‘अतीत’ र ‘गुलाबी’ लगायतका चलचित्र निर्देशन गरिसकेका छन्। उनले ‘माया’, ‘सहारा’, ‘पार्वती’, ‘भाग्य रेखा’, ‘हाम्री आमा’, ‘धड्कन’, ‘संस्कार’, ‘सौभाग्य’, ‘टुल्के दाई’ र ‘कर्मा’ लगायतका थुप्रै टेलिचलचित्रको निर्देशन गरेका छन्।

निर्देशनसँगै अभिनयमा पनि सक्रिय दाहालले ‘दृष्टि’, ‘नारी’, ‘छुचिसासु’, ‘परिवार’, ‘मेरो कथा’, ‘आमा सबैकी’, ‘मेरी आमा’, ‘गरिमा’ र ‘ओजस्वी’ लगायतका टेलिचलचित्रमा अभिनय गरेका छन्। चलचित्रका विभिन्न विधामा काम गर्दै आएका उनले आफ्नो सिर्जनात्मक यात्रालाई फराकिलो बनाएका छन्।

चलचित्रलाई आफ्नो कर्मथलो बनाएका दाहाल समाज परिवर्तनमा सिनेमाको भूमिकालाई महत्त्वपूर्ण मान्छन्। चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको ऐना पनि भएको उनको धारणा छ। चलचित्रले सामाजिक चेतना अभिवृद्धि गर्दै समाज परिवर्तनमा समेत योगदान दिन सक्ने उनी बताउँछन्।