काठमाडौं : नेपाली सिनेमाको शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि तीन नेपाली सिनेमा एकसाथ प्रदर्शनमा आएका छन्। काजी लिम्बु र अञ्जन शर्माको निर्देशनमा बनेको ‘जदौ’, हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बा : एक योद्धा’ र निखिल उप्रेतीको निर्देशन, निर्माण तथा अभिनय रहेको ‘आचार्य’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएका हुन्।
तीनवटै चलचित्रका विषयवस्तु र प्रस्तुति भने फरक छन्। ‘जदौ’ले जातीय विभेद, अन्तरजातीय प्रेम र सामाजिक असमानताको कथा उठाएको छ। ‘बा : एक योद्धा’ले विदेशिएका सन्तानका कारण वृद्ध बुबाआमाले भोग्ने एक्लोपन र पारिवारिक दूरीलाई केन्द्रमा राखेको छ। यता ‘आचार्य’ एक्सनप्रधान मास इन्टरटेनरका रूपमा आएको छ।
‘जदौ’मा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मालगायत कलाकारको अभिनय छ। ‘बा : एक योद्धा’मा दिव्यदेव, झरना थापा, सुहाना थापा र माओत्से गुरुङलगायत छन् भने ‘आचार्य’मा निखिल उप्रेतीसँगै रघु बाबू, रघु करुमन्ची, पूर्णिका सिजापती र सजिना श्रेष्ठलगायत कलाकार देखिएका छन्।
यी तीन सिनेमासँगै ‘गौँथली’, ‘पार्वती’, ‘झिँगेदाउ–२’, ‘कार्की साइँला’, ‘बेहुली’, ‘एलिफेन्ट इन द फग’, ‘पेन्सन पट्टा’ र ‘माया बस्छ कि क्या हो’ लगायत नेपाली सिनेमा पनि हलमा प्रदर्शनरत छन्। नयाँ तीन सिनेमाले फरक विषय र शैलीमार्फत दर्शक तान्ने प्रयास गरेका छन्।
















