Sur Cinema

‘जदौ’को ट्रेलर संवादले तान्यो दर्शकको ध्यान

काठमाडौं : प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जदौ’को एक्सटेन्डेड ट्रेलर सार्वजनिक भएसँगै यसको संवादले दर्शकको ध्यान तानेको छ। सोमबार सार्वजनिक करिब साढे दुई मिनेट लामो ट्रेलरमा अन्तरजातीय प्रेम, सामाजिक विभेद र प्रेम प्राप्तिका लागि पात्रले गर्नुपरेको संघर्षलाई प्रस्तुत गरिएको छ।

अन्जन शर्मा र काजी लिम्बूको निर्देशनमा बनेको सिनेमा असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पल ठकुरी, विनोद न्यौपाने र खड्गबहादुर पुनलगायत कलाकारको अभिनय रहेको सिनेमाका केही संवाद अहिले सामाजिक सञ्जालमा चर्चामा छन्।

‘लुगा सिलाउनलाई जात र थर पनि चाहिन्छ र?’, ‘बाँच्न सिक्नुपर्छ, जातको कारणले हाम्रो बिहे हुन सक्दैन रे…’ तथा ‘हो हो हो, म दमई हो…’ जस्ता संवादले सिनेमाले उठाएको सामाजिक विषयलाई प्रस्ट्याएका छन्। ट्रेलरमा समावेश ‘रागले पोल्यो जातको, चलेन पानी यी हातको…’ बोलको गीतले पनि दर्शकको ध्यान खिचेको छ। धेरैले उक्त गीत पूर्ण रूपमा सुन्न चाहेको प्रतिक्रिया दिएका छन्।

लेखकसमेत रहेका निर्देशक काजी लिम्बूले नेपाली समाजमा देख्दै र भोग्दै आएको जातीय विभेद तथा कुरीतिविरुद्ध सिनेमामार्फत आवाज उठाउन खोजिएको बताएका छन्। अर्का निर्देशक अन्जन शर्माले ‘जदौ’ हेर्ने मात्र नभई महसुस र मनन गर्ने सिनेमा बनेको बताउँदै आएका छन्।

शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको सिनेमामा सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता छन्। राजाराम सुवेदी, दीपक पोखरेल, नारायण शास्त्री र सुमित्रा देवकोटा सहनिर्माता रहेको सिनेमाको कन्सेप्ट डिजाइन बिमला भण्डारीले गरेकी हुन्। सिनेमालाई एनसीजीएनले वितरण गर्दैछ।