Sur Cinema

‘बाटुलो जून’ कार्तिक २६ मा

काठमाडौं : भुवन केसीको निर्माणमा रहेको सिनेमा ‘बाटुलो जून’ अब कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। बुधबार निर्माण पक्षले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो।

यसअघि दसैँको अवसरमा सिनेमा प्रदर्शन गर्ने तयारी थियो। तर, दसैँमा अन्य चार सिनेमा प्रदर्शनमा आउने तय भइसकेको र थप एउटा सिनेमासमेत आउँदा पर्दा बाँडफाँडमा समस्या हुनसक्ने प्रदर्शक तथा वितरकको सुझावपछि ‘बाटुलो जून’को प्रदर्शन मिति परिवर्तन गरिएको भुवन केसीले बताएका छन्।

‘एउटै समयमा धेरै चलचित्र प्रदर्शन हुँदा पर्दा बाँडफाँडमा समस्या आउन सक्छ। त्यसैले भिडेर जानुभन्दा मिलेर अघि बढ्नु नै नेपाली सिने उद्योगको हितमा हुन्छ भन्ने लागेर नयाँ मिति तय गरेका हौँ,’ केसीले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले बडा दसैँमा प्रदर्शनमा आउने चारवटै सिनेमालाई सफलताको शुभकामनासमेत दिएका छन्।