काठमाडौं : सिनेमा ‘चंगुल’को शीर्षक गीत ‘झाँक्री’ सार्वजनिक गरिएको छ । ढ्याङ्ग्रोको ताल र र्याप शैलीको संयोजन रहेको गीतले देशको राजनीतिक तथा सामाजिक अवस्थामाथि सांकेतिक व्यंग्य गरेको छ ।
गीतमा नेपाललाई ‘सतीले सरापेको देश’ भन्ने भाष्यभन्दा पनि भ्रष्ट शासकको नजर लागेको देशका रूपमा प्रस्तुत गर्दै त्यसबाट मुक्ति खोजिएको भाव देखाइएको छ । भ्रष्ट प्रवृत्तिलाई झाँक्रीको माध्यमबाट मन्छाउने सांकेतिक दृश्य गीतमा समेटिएको छ ।
विक्रम कार्कीको संगीत रहेको गीतमा ओ नेगेटिभ राजु एरी र सन्देश पौडेलको स्वर छ । गीतका शब्द गायक राजु एरी र अभिनेता रवि कार्कीले लेखेका हुन् । गीतको कोरियोग्राफीसमेत रवि कार्कीले नै गरेका छन् ।

मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको सिनेमामा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना लगायतका कलाकारको अभिनय छ । बालकलाकार रिम्शा कार्कीको समेत अभिनय रहेको छ ।
सिनेमाका अन्य गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत रहेको छ । द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन् भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ ।
‘चंगुल’ असोज १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । निर्माण टिमले सिनेमाको नाफाको केही हिस्सा घाइते जेन्जी नेपालका लागि सहयोग गर्ने तथा बाढीपीडितको सहयोगार्थ समेत रकम छुट्याउने बताउँदै आएको छ।

















