काठमाडौं : गुरुङ समुदायको इतिहास, संस्कृति, परम्परा र सामाजिक जीवनलाई कथावस्तु बनाइएको सिनेमा ‘बुकी फूल’को कास्कीको सिक्लेसमा शुभमुहूर्त गरिएको छ। बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना तथा निर्माण र ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको सिनेमाको अधिकांश छायांकन सिक्लेस तथा आसपासका क्षेत्रमा हुनेछ।
सिनेमामा दयाहाङ राई, संस्कृति गुरुङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङलगायतका कलाकारको अभिनय रहनेछ। पुर्खाबाट सुन्दै आएको कथा, समुदायको इतिहास र मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले सिनेमा निर्माण गर्न लागिएको निर्माता गुरुङले बताए।
सुसन प्रजापतिको छायांकन र तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहने सिनेमाको छायांकन करिब ३५ दिनमा सक्ने लक्ष्य राखिएको छ। सिनेमाले गुरुङ समुदायको मौलिक जीवनशैली र सांस्कृतिक परिवेशलाई पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।


















