Sur Cinema

सौगात ‘साम्राज्य’मा, २५ देखि ८० वर्षसम्मको भूमिकामा देखिँदै

काठमाडौं : निर्देशक सौरभ चौधरीको नयाँ सिनेमा ‘द राइज अफ साम्राज्य’मा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा अनुबन्धित भएका छन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा सौगात र चौधरीले दोस्रोपटक सहकार्य गर्न लागेका हुन्।

यसअघि ‘अगस्त्यः च्याप्टर १’मा सँगै काम गरेका सौगात र सौरभको दोस्रो सहकार्यलाई लिएर दर्शकमाझ पनि चासो बढेको छ। निर्देशक चौधरीका अनुसार सिनेमाको कथाले माग गरेकाले सौगातलाई पहिलो कलाकारका रूपमा अनुबन्ध गरिएको हो।

सिनेमामा सौगात २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको चरित्रमा देखिनेछन्। एउटै पात्रको लामो जीवनयात्रालाई पर्दामा प्रस्तुत गर्नुपर्ने भएकाले यो भूमिका उनका लागि चुनौतीपूर्ण र विशेष हुने निर्माण पक्षको भनाइ छ।

सिनेमाको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। सार्वजनिक थिम पोस्टरले सिनेमालाई ऐतिहासिक पृष्ठभूमिमा आधारित एपिक एक्सन ड्रामाका रूपमा प्रस्तुत गर्ने संकेत गरेको छ।

निर्देशक चौधरीले यसपटक अघिल्लो सिनेमाभन्दा अझ ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन्। निर्माण पक्षका अनुसार यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन सिनेमा बन्नेछ।

सिनेमाको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ। ७० दिनको छायांकन तालिकामध्ये अधिकांश दृश्य पूर्वी नेपालमा खिचिनेछ। अन्य कलाकारको छनोट प्रक्रिया जारी रहेको र उनीहरूको नाम केही दिनमै सार्वजनिक गरिने निर्देशक चौधरीले बताएका छन्।

सिनेमाका निर्माता प्रवेश चौधरी र निला देव हुन्। को–प्रोडुसरमा विश्वास बस्नेत (बेन), कार्यकारी निर्मातामा शंकर पाण्डे छन्। मानकृष्ण महर्जन डीओपी तथा श्री श्रेष्ठ एक्सन निर्देशक रहनेछन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डिसीएन वितरक रहेको छ।