Sur Cinema

‘बा : एक योद्धा’को नयाँ गीतमा केकी र करणको नृत्य

काठमाडौं : सिनेमा ‘बा : एक योद्धा’को लोकलयमा आधारित नयाँ गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ। हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर छ।

नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार गीतले विवाह र उत्सवको माहोल झल्काउँछ। भिडियोमा केकी अधिकारी र करण साहको नृत्य रहेको छ। गीतको कथामा युवकले युवतीसँग जीवनसाथी बन्न आग्रह गरे पनि युवतीले भने बुवाआमाले रोजेको युवकसँग विवाह गर्ने जवाफ दिन्छिन्।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमा ‘बा : एक योद्धा’ भदौ १९ गते प्रदर्शनमा आउँदैछ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई सिनेमाको मुख्य कथावस्तु बनाइएको छ।

सिनेमामा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको अभिनय छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमाका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता छन्। कृष्ण काफ्ले सह–निर्माता र अर्जुन पौडेल लाइन प्रोड्युसर हुन्। शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमालाई आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।