काठमाडौं : गीतकार तथा साहित्यकार बद्री दाहाल (अनन्त)ले नेपाली मौलिकता, संस्कृति र प्रवासी जीवनका अनुभूतिलाई सिर्जनामार्फत निरन्तर अभिव्यक्त गर्दै आएका छन्। पछिल्लो समय उनले तयार पारेको नयाँ लोक–आधुनिक गीत ‘पानी खोलाको, लाग्छ पलपलमै तिमीले बोलाको’ सार्वजनिक हुने तयारीमा रहेको छ।
सिन्धुलीको मझुवा–३ मा जन्मिएका दाहाल हाल अमेरिकाको लुइभिल, केन्टकीमा बसोबास गर्दै आएका छन्। सरकारी वकिल समूहमा सेवा गरिसकेका उनी शिक्षण पेशामा समेत आबद्ध रहिसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट एम.ए., एल.एल.बी. र बी.एड. अध्ययन पूरा गरेका दाहालले अमेरिकाको जेफर्सन कम्युनिटी एन्ड टेक्निकल कलेजबाट कम्प्युटर विषयमा एसोसियट डिग्री हासिल गरेका छन् भने हाल युनिभर्सिटी अफ लुइभिलमा मास्टर अफ साइन्स इन सोसियल वर्क (MSSW) अध्ययनरत छन्।
साहित्य र सामाजिक क्षेत्रमा पनि उनको सक्रिय उपस्थिति छ। उनी नेपाल अमेरिका सोसाइटी अफ केन्टकी (नास्क) का अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्टकी च्याप्टरका संस्थापक अध्यक्ष तथा एनआरएनए केन्टकी च्याप्टर का पूर्व बोर्ड सदस्य (२०२१–२०२३) पनि हुन्।
दाहालका कविता, गीत, गजल तथा अन्य साहित्यिक रचनाहरू विभिन्न राष्ट्रिय पत्रपत्रिका र साहित्यिक माध्यममा प्रकाशित हुँदै आएका छन्। हालै अमेरिकाको कोलोराडोमा सम्पन्न अनेसास को नवौँ अन्तर्राष्ट्रिय सम्मेलनमा उनको कविता सङ्ग्रह ‘क्षितिजपारिको आँगन’ सार्वजनिक गरिएको थियो।
यसैबीच उनले वरिष्ठ सङ्गीतकार तथा सङ्गीत संयोजक सचिन सिंह सँगको सहकार्यमा तयार गरेको गीत ‘पानी खोलाको’मा केवल लामा (थिङ) ले सङ्गीत दिएका छन् भने चर्चित गायक–गायिका मेलिना राई र राजु तामाङ ले स्वर दिएका छन्।
गीतको भिडियोमा विवाह भएको केही दिनमै श्रीमान् भविष्यको खोजीमा विदेशिन बाध्य हुने नेपाली समाजको तितो यथार्थ चित्रण गरिएको छ। नवविवाहित दम्पतीको पीडा, बिछोड, प्रतीक्षा र भावनात्मक संघर्षलाई भिडियोमार्फत प्रस्तुत गरिएको गीतकार दाहाल बताउँछन्। भिडियोमा श्रीदेव भट्टराई र ज्योति खड्काको अभिनय रहेको छ।
दाहालका अनुसार साहित्य, सङ्गीत र कलाको त्रिवेणीले नै उनलाई गीत लेखनतर्फ प्रेरित गरेको हो। कविता लेख्दै जाँदा गीत सिर्जनाप्रतिको रुचि अझ गहिरिँदै गएको उनी बताउँछन्।
उनी भन्छन्, “म जहाँ रहे पनि मेरो छातीभरि नेपालको माटो छ। यही माटोको सुगन्ध बोकेका मौलिक गीत र सिर्जना गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा निरन्तर लागिरहने मेरो सङ्कल्प छ।”
प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र मौलिक संगीतप्रति आफ्नो प्रतिबद्धता कायम राखेका बद्री दाहालको यो नयाँ गीतले दर्शक–श्रोतामाझ कस्तो स्थान बनाउनेछ, त्यो भने यसको सार्वजनिक प्रदर्शनपछि थाहा हुनेछ।
उनले लेखेको ‘पानी खोलाको’ गीत तथा भिडियो छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ।
















