Sur Cinema

डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् सिम्रन

काठमाडौं : सिनेमा ‘गौँथली’को प्रचारलाई फरक ढंगले प्रस्तुत गर्दै अभिनेत्री सिम्रन खड्का शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका सडकमा निस्किइन्।

सिनेमाको पात्रकै वेशभूषामा वसन्तपुर र पाटन पुगेकी सिम्रनले दुई हजारभन्दा बढी दर्शकसँग प्रत्यक्ष भेट गर्दै सिनेमा हेर्न आग्रह गरिन्। उनले दर्शकलाई सिनेमाबारे जानकारी समेटिएको ब्रोसर वितरण गर्दै साउन १ गतेदेखि प्रदर्शनमा आउने ‘गौँथली’ हेर्न निम्तो दिइन्।

सिम्रनका अनुसार धेरै दर्शकले ट्रेलर हेरेर सिनेमाप्रति उत्सुकता व्यक्त गरेका छन् भने केहीले सिनेमा लागिसकेको ठानेर हलसम्म पुगेको अनुभव पनि सुनाएका थिए।

कपिल रिजाल निर्देशित ‘गौँथली’मा अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झालगायत कलाकारको अभिनय रहेको छ। सिनेमा साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।