Sur Cinema

नेपालमा रिलिजअघि नै ‘अक्षरा’को विदेशमा डिमान्ड, दक्षिण कोरियामा बिक्री भयो प्रदर्शन अधिकार

काठमाडौं : नेपाली सिनेमा ‘अक्षरा’ले स्वदेशमा प्रदर्शन हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा महत्वपूर्ण सफलता हात पारेको छ। आगामी भदौ २६ गते नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको यस सिनेमाको दक्षिण कोरियाको प्रदर्शन अधिकार आधिकारिक रूपमा बिक्री भएको छ।

निर्माण पक्षका अनुसार दक्षिण कोरियामा सिनेमाको प्रदर्शन अधिकार केटीएम २ सोल (KTM 2 Seoul) ले खरिद गरेको हो। यससँगै कोरियामा रहेका नेपाली दर्शकले पनि सिनेमालाई आधिकारिक रूपमा ठूलो पर्दामा हेर्न पाउने भएका छन्। यद्यपि, सम्झौता कति रकममा सम्पन्न भयो भन्ने विषयमा निर्माण कम्पनीले कुनै जानकारी सार्वजनिक गरेको छैन।

प्रदर्शनअघि नै विदेशी बजारमा सिनेमाको वितरण अधिकार बिक्री हुनु नेपाली सिने उद्योगका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। पछिल्लो समय विदेशमा रहेका नेपाली दर्शकमाझ नेपाली सिनेमाप्रति बढ्दो आकर्षणका कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली सिनेमाको माग पनि क्रमशः बढ्दै गएको देखिन्छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको ‘अक्षरा’ मा सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ताको रूपमा रहेकी छन् भने निर्देशन विनय राज पौडेलले गरेका हुन्।

सिनेमामा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिनेछन्। अभिनेत्री न्यान्सी खड्का यसअघि सिनेमा ‘१२ गाउँ’ बाट दर्शकमाझ परिचित भइसकेकी छन्।

सिनेमाका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। कथाकार स्वयं उग्रसेन ढुङ्गाना हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनय राज पौडेलले संयुक्त रूपमा तयार पारेका छन्।

प्राविधिक पक्षमा दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन रहेको छ। नेपालभित्र सिनेमाको वितरण नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले गर्नेछन्।

नेपालमा प्रदर्शनअघि नै विदेशी बजारमा आफ्नो उपस्थिति सुनिश्चित गर्न सफल ‘अक्षरा’ ले अब घरेलु बक्स अफिसमा कस्तो प्रदर्शन गर्छ भन्ने चासो सिने वृत्तमा बढेको छ।