काठमाडौं : पोस्ट–प्रोडक्सनमा रहेको सिनेमा ‘बब डाई’का लागि गायक कुशल पोख्रेलले गीत गाएका छन्, जसको भिडियो छायांकन ललितपुरको भैसेपाटीमा सम्पन्न भएको छ। भिडियो केही समयपछि सार्वजनिक गरिनेछ। मुख्य कलाकार सौगात मल्लको दृश्य भने छिट्टै खिचिनेछ।
कुशलकै शब्द रहेको गीतमा भुसालको संगीत र केपासको मिक्सिङ–मास्टरिङ रहेको छ। ‘पैसा’ गीतबाट चर्चामा आएका कुशलले यस सिनेमाबाट अभिनयमा पनि डेब्यु गरेका छन्।
प्रवीण श्रेष्ठ निर्देशित कमेडी सिनेमा ‘बब डाई’मा सौगात मल्ल र सिम्रन पन्त मुख्य भूमिकामा छन्। साथै सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरीलगायतका कलाकारको अभिनय रहेको छ। सिनेमा २०८३ भित्रै प्रदर्शनमा आउने तयारीमा छ।

















