Sur Cinema

‘बेहुली’को शुभ मुहूर्त सम्पन्न, मुख्य भूमिकामा पारस र दिव्या

काठमाडौं : पारस बम ठकुरी र दिव्या रायमाझीको अभिनय रहने सिनेमा ‘बेहुली’को शुभ मुहूर्त ललितपुरको कार्यविनायक मन्दिरमा सम्पन्न भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुति रहेको यस सिनेमाको छायाङ्कन यसै साताबाट सुरु हुने र आगामी हरितालिका तीज (भदौ १२)मा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

सुगम तथा सिने सङ्गीतमा चर्चित सङ्गीतकार अर्जुन पोखरेल यस सिनेमामार्फत पहिलो पटक निर्माता बनेका हुन् । उनले नै सिनेमाको सङ्गीत निर्देशन पनि गरेका छन्। प्रताप राणाको निर्माण तथा सशान कँडेलको निर्देशन रहेको सिनेमाको कथा माधव शर्माले लेखेका हुन्।

सिनेमामा पारस र दिव्याका साथै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी लगायत कलाकारको अभिनय रहनेछ। नरेन्द्र मैनालीको छायाङ्कन, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमाको वितरण काफिया फिल्म्स र श्री व्यंकटेश इन्टरटेन्मेन्टले गर्नेछन्। डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।