काठमाडौँ : नेपाली चलचित्रको प्राविधिक गुणस्तर उकास्ने र पर्दा पछाडिका स्रष्टाहरूको योगदानलाई संस्थागत सम्मान दिन चलचित्र विकास बोर्ड ले आर्थिक वर्ष २०८२/०८३ लाई ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ का रूपमा मनाउँदै विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ। यही अभियानअन्तर्गत ध्वनी संयोजनकर्ताहरूका लागि Spot Sync Sound Training फागुनको दोस्रो सातादेखि काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत बोर्डद्वारा आयोजित उक्त तालिम अडियो भिडियो सोसाइटी अफ नेपाल (AVSN) को सहकार्यमा सञ्चालन हुनेछ। तालिममा छायांकन स्थलमै उच्च गुणस्तरीय ध्वनि रेकर्डिङ, प्रोफेशनल अडियो व्यवस्थापन, उपकरणको वैज्ञानिक प्रयोग तथा लाइभ सिङ्क साउण्ड प्रविधिबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइनेछ।
बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार यो तालिम पर्दा पछाडिका ध्वनी संयोजनकर्ताहरूलाई सशक्त बनाउँदै नेपाली चलचित्रको ध्वनि गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको हो। सहभागिता सबै इच्छुक चलचित्रकर्मी तथा प्राविधिकहरूका लागि खुला गरिएको छ।
थप जानकारी तथा आवेदनका लागि info@film.gov.np मा सम्पर्क गर्न सकिनेछ।















