काठमाडौं : यही माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको सिनेमा ‘कुमारी’ को प्रचारका लागि शुक्रबार नेपालगन्जमा भव्य ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ सम्पन्न भएको छ। होटेल स्टार लाइटमा आयोजित कन्सर्टमा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा मुख्य कलाकार अबिशेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत तथा गायक केहर सिं लिम्बु र उनको ब्यान्डले साङ्गीतिक प्रस्तुति दिए। ‘डोको बुन्ने’ गीतमा अबिशेक र आकृतिको प्रत्यक्ष नृत्यले दर्शकलाई झन् उत्साहित बनायो।
नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा माघ ३ गते पोखरा, ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमक पुग्नेछ। माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा विशेष खुला कन्सर्टसहित सिनेमाको आधिकारिक ट्रेलर सार्वजनिक गरिनेछ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘कुमारी’का निर्माता महेन्द्र अधिकारी हुन्। निर्देशक दिनेश राउतको निर्देशनमा बनेको यो सिनेमा माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।















