काठमाडौं : माघ १ गतेबाट प्रदर्शनमा आउने नेपाली सिनेमा ‘मिरमिरे’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिने भएको छ। यसअघि यही जोडी निर्देशक यम शेर्पाको सिनेमा ‘कार्साङ्’ मा देखिएको थियो।
निर्देशक यम शेर्पाका अनुसार, पहिले सँगै काम गरिसकेकाले काम गर्न सहज हुने र कथाको माग पनि यही जोडीसँग मेल खाने भएकाले दयाहाङ र सिर्जनालाई पुनः चयन गरिएको हो। ‘मिरमिरे’ यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको हो।
सिनेमामा दयाहाङ र सिर्जनासँगै प्रकाश सपूत पनि मुख्य भूमिकामा छन्, जुन दयाहाङसँग उनको पहिलो सहकार्य हो। शाइसा गौचनले दयाहाङकी छोरीको भूमिका निभाएकी छन्। सार्वजनिक टिजरमा छोरीका लागि बुवाले गर्ने संघर्ष, त्याग र माया भावुक रूपमा प्रस्तुत गरिएको छ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ का निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सिनेमाको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।















