काठमाडौं : माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रेम कथानक सिनेमा ‘कुमारी’ को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित पत्रकार भेटघाटमार्फत लोक शैलीको यो गीत सार्वजनिक गरिएको हो।
गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। सागर लामिछाने मगर र सुमन तामाङको शब्द, सुमन तामाङ र केहर सिं लिम्बुको संगीत तथा रिकेश गुरुङको मिक्सिङ–मास्टरिङ रहेको छ। शिशिर खातीको कोरियोग्राफीमा बनेको भिडियोमा मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीलाई नोस्टाल्जिक प्रेम भावमा प्रस्तुत गरिएको छ।
निर्देशक दिनेश राउतले ‘डोको बुन्ने’ ले सिनेमाको मौलिकता र नेपालीपन झल्काउने बताए। लेखक विकास सुवेदीले गीतले सिनेमाको भाव दर्शकसम्म पुर्याउने विश्वास व्यक्त गरे। डेब्यु कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीले सिनेमाबाट आफू उत्साहित रहेको बताए।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको सिनेमाका निर्माता महेन्द्र अधिकारी हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्। सिनेमामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्कालगायत कलाकारको अभिनय रहेको छ।















