काठमाडौँ : निर्देशक मिलन चाम्सको नयाँ प्रेमकथानक सिनेमा ‘सुम्निमा’ मार्फत लन्डनमा बसोबास गर्दै आएकी सोल गुरुङ नेपाली सिने क्षेत्रमा डेब्यु गर्दै छिन्। केही म्युजिक भिडियोमा मोडलिङ गरेकी सोललाई निर्माण टिमले लन्डनमा पहिलो चरणको छायांकन सकेर फर्किएपछि सार्वजनिक गरेको हो।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको यस सिनेमामा सोलसँगै कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा र सुस्मा सुब्बा पनि मुख्य भूमिकामा छन्।
निर्देशक चाम्सका अनुसार ‘सुम्निमा’ नारीकथा होइन, एक शुद्ध लभ स्टोरी हो, जसलाई अन्तर्राष्ट्रिय बजार लक्षित गरेर बनाइँदै छ। राजीव थापाको लेखन रहेको यो सिनेमाको दोस्रो चरणको छायांकन नेपालमा हुने बताइएको छ।















