Sur Cinema

‘शक्ति’ सिरिजको टिजर : पारिवारिक कथामा भावनात्मक प्रस्तुति

काठमाडौं : निर्देशक सरोज दाहालको निर्देशनमा तयार पारिएको नयाँ सिरिज ‘शक्ति’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले रामसार युटुब च्यानल मार्फत ३ मिनेट ६ सेकेण्डको ट्रेलर रिलिज गरेको हो । बुधबार रिलिज गरिएको ट्रेलरमा पारिवारिक भावना, मूल्य र पुस्तागत सोचबीचको द्वन्द्वलाई केन्द्रमा राखिएको देख्न सकिन्छ। यस सिरिजले ‘परिवार भनेको रगतको नाता होइन, एक–अर्काको उज्यालोमा उभिन सक्ने सामर्थ्य हो’ भन्ने सन्देश दिन खोजेको छ।

सिरिजको छायांकन सुमन शाक्यले गरेका हुन् भने संगीत विकास चौधरीले दिएका छन्। सौरभ दवाडीले लेखेको यस सिरिजको कथाले निवृत्त शिक्षक र बिरामी तर जीवनदर्शी उनकी श्रीमतीको वरिपरि घुम्छ। उनीहरूले आफ्ना छोरा र बुहारीलाई पुर्ख्याउली घरमा स्वागत गरेपछि पुराना मूल्य र नयाँ सोचबीचको द्वन्द्व सुरु हुन्छ । प्रत्येक साँझ आमाले बाल्ने एउटा दियो सिरिजको भावनात्मक केन्द्र बनेको छ। जसको ज्योतिको अर्थ प्रत्येक एपिसोडमा फरक हृदयको उपचारसँग जोडिएको हुन्छ ।

यस सिरिजमा आरजे सिंह (बुबा), मञ्जु श्रेष्ठ (आमा), सरोज दाहाल (छोरा), सुष्मिता बुढाथोकी (बुहारी) लगायत बद्री पुडासैनी, अशोक रोक्का, कृष्णबहादुर पाण्डे, शिशिर नेम्वाङ र विवेक लामिछानेका कलाकारहरुले अभियन गरेका छन् । सिरिज कार्तिक २२ गते देखि शनिबार बिहान ९:३९ बजेबाट प्रसारण हुदैछ ।