Sur Cinema

इन्द्रेणीमा ‘परान’ टिमको देउसी भैलो

काठमाडौं : तिहारको अवसरमा सिनेमा ‘परान’ टिमले देउसी भैलो खेल्दै चाडपर्वको खुसी साटेको छ। यमपञ्चकको पहिलो दिन, राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल र इन्द्रेणी समाजको सहकार्यमा आयोजना गरिएको देउसी कार्यक्रम इन्द्रेणी समाजको हलमा सम्पन्न भयो।

कार्यक्रममा ‘परान’की प्रमुख कलाकार केकी अधिकारी, अन्जना बराइली, निर्देशक दीपक प्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी, समर चौलागाईं लगायतको उपस्थिति रहेको थियो। करिब एक घण्टा चलेको देउसी कार्यक्रममा कलाकारहरूले तिहार गीत गाउँदै रमाइलो गरेका थिए।

कार्यक्रममा कलाकारहरूले तिहारका बाल्यकालीन सम्झना सुनाउँदै मौलिकपनामा आधारित ‘परान’ सिनेमाको बारेमा जानकारी दिएका थिए। देउसी भैलो कार्यक्रममा गायक सरोज लामिछाने, गायिका शिला आले, युवराज चौलागाईं लगायतको पनि सहभागिता थियो।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले मौलिक संस्कृतिको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम गरिएको बताउँदै ‘परान’ टिमलाई स्वागत गरेका थिए। सिनेमा ‘परान’ कार्तिक १४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।