Sur Cinema

‘परान’ ट्रेलर : नेपाली समाजको पारिवारिक कथालाई जोड

काठमाडौं : यहि कार्तिक १४ गते रिलिज हुने सिनेमा ‘परान’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सिनेमाले नेपाली समाजको पारिवारिक कथा पस्किने देखाएको छ । यसमा विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ ।

बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरुलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई सिनेमाको कथानक बनाएको छ। सिनेमाको शीर्ष भूमिकामा निर शाहले अभिनय गरेका छन् । नेपाली सिनेमामा अभिनयका भीष्मपितामाका रूपमा चिर परिचित निर शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो सिनेमालाई विशेष चासोको  प्रतिक्षा गरिएको छ।

सिनेमाले पारिवारिक दर्शकहरूलाई मूलरूपमा आकर्षण गर्ने ठानिएको छ । सिनेमाको ट्रेलर पनि सोही वर्गका दर्शकहरूलाई आकर्षित गर्ने किसिमले तयार पारिएको छ।

‘परान’ सिनेमालाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस सिनेमाको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले सिनेमा निर्माण गरेको हो।

सिनेमामा वरिष्ठ अभिनेता नीर शाह, महेश शाह र अञ्जना बराइलका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।