काठमाडौं : सिनेमा ‘अभिमन्यु : च्याप्टर १’को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले…’ बोलको गीत निर्माणपक्षले विजया दशमीका दिन सार्वजनिक गरेको हो । गीतमा सुरेश बादलको शब्द रहेको छ । सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ ।
प्रेमिल भएको प्रेम जोडीको प्रेम, गीतमा समेटिएको छ । प्रेममा परेको जोडी प्रेमबिना बाँच्न सक्ने अवस्थामा नरहेको तर मर्न पनि नसक्ने अवस्था गीतले चित्रण गरेको छ । बाहिर देख्दा कठोर देखिने व्यक्तिको भित्री हृदय कोमल हुने भन्दै गीतले एकले अर्कोको मनमा बसेको विषय उल्लेख गरेको छ । प्रेमिल गीतले सिनेमाका दुई मुख्य पात्रको प्रेम देखाएको छ ।
भिडियोमा सिनेमाका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाको प्रेम देखाइएको छ । असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुँदैछ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस सिनेमामा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् । शरद महतोको डिओपी रहेको यस सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।















