काठमाडौं : असोजको १३ गते फूलपातीबाट रिलिजमा आउन लागेको सिनेमा ‘माइतीघर’को शिर्ष गीतको नृत्य प्रतियोगीतामा दर्शकहरुको उत्साहजनक सहभागीता भइरहेको छ । सोमबारबाट सुरु भएको यो प्रतियोगीताका विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । असोजको १२ गतेसम्म यो प्रतियोगीता जारी रहने निर्माणपक्षले बताएको छ ।
सुरुवातमा यसको निर्माणपक्षले यो भिडियो प्रतियोगीतामा प्रथम हुनेलाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो । तर, अब दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कार दिने बताइएको छ । साथै, सहभागीता जनाउनेहरुको पनि हात खाली नहुने रोहितले जानकारी दिएका छन् ।
सञ्जिवनीको स्वरमा समावेश यो गीत सार्वजनिक भएसँगै चर्चामा छ । यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको नृत्य गरेर भिडियो बनाउनेहरुमध्येबाट एक जनालाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरिएको हो । गीतको भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन छ । सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन छ ।
केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको यो सिनेमामा अभिनय छ । चन्द्रकुमार दोङको कथा रहेको सिनेमामा रामशरण पाठकको पटकथा तथा संवाद छ । रबिन शेरचन र धिरज तामाङको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।















