Sur Cinema

‘अभिमन्यु’को ट्रेलर रिलिज कार्यक्रममा ‘नचलेका कलाकार’ शब्द प्रयोग भएकोप्रति सेभेन सिजले जनायो आपत्ति

काठमाडौँ : सेभेन सिज सिनेमाले आफ्नो अग्रसरतामा आयोजना गरिएको सिनेमा ‘अभिमन्यु : च्याप्टर वान’ को ट्रेलर रिलिज कार्यक्रममा कलाकारहरूलाई लक्षित गरी ‘नचलेका कलाकार’ भन्ने शब्द प्रयोग भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आपत्ति जनाएको छ ।

आज जारी गरेको प्रेस विज्ञप्तिमा सेभेन सिज सिनेमाले उक्त असावधान शब्द प्रयोगले कलाकारहरूको सम्मानमा आँच पुगेको भन्दै घोर भर्त्सना गरेको हो। सिनेमाले यस सिनेमामा संलग्न सम्पूर्ण कलाकारहरूले विगत लामो समयदेखि निरन्तर मेहनत, लगनशीलता र जिम्मेवारीका साथ नेपाली सिनेमा तथा कला क्षेत्रमा योगदान दिँदै आएको कुनै दुविधा नरहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कलाकार, साहित्यकार, स्रष्टा तथा सिर्जनशील व्यक्तिहरू राष्ट्रका गहना हुन्। हाम्रो लागि सबै कलाकारहरू समान हुन्। उहाँहरूको योगदानलाई सम्मान गर्नु सम्पूर्ण व्यक्ति, समाज र संस्थाको दायित्व हो।’

सेभेन सिज सिनेमाले कुनै पनि शब्दको अयोग्य वा अनुचित प्रयोगले कलाकारहरूको मनोबल गिराउने भएकोले यस्ता विषयमा ध्यान दिन सम्पूर्णमा अह्वान गरेको छ । उक्त प्रेस विज्ञप्ति सेभेन सिज सिनेमाका अध्यक्ष विनोद पौडेलले जारी गरेका हुन्। ट्रेलर रिलिज कार्यक्रममा पत्रकारहरुले नचलेको कलाकार राखेको भन्ने शब्द प्रयोग गरेपछि विवाद भएको हो।