Sur Cinema

११ दिन लगाएर ‘माईतिघर’ गीतको छायांकन, ५० लाख खर्च

काठमाडौं : असोजको १३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘माइतीघर’को प्रचार प्रसार जोडतोडका साथ चलिरहेको छ । यता, सिनेमाको निर्माणपक्षले यसको शीर्ष गीतको छायांकन सकेको छ । एउटै गीतका लागि ११ दिन लगाएर छायांकन गरिएको निर्माता रोहित अधिकारीले बताएका छन् ।

उसो त यो गीतको छायांकन बाग्लुङमा पनि गरिएको थियो । तर, निर्माणपक्षले त्यो बेला खिचिएका कुनै पनि दृश्य यसमा राखेको छैन । सबै नयाँ शैलीमा नै खिचिएको अधिकारीको भनाई छ । गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी छ । गीतको भिडियो खिच्नका लागि ५० लाख खर्च भएको निर्माता अधिकारीको दाबी छ ।

भिडियोमा सिनेमाका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । गीतको भिडियोमा कोरसको जम्बो टोलीलाई नचाइएको छ । यसकारण पनि लागत बढेको निर्माणपक्षको भनाई छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा यो सिनेमा निर्माण भएको हो ।
एउटा ऐतिहासिक गीत भएका कारण पनि भिडियो मेकिङमा कुनै संझौता नगरिएको निर्माताको दाबी छ ।

यो गीतको भिडियो आउँदो साता सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्माणपक्षले यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउने मध्ये एक जना उत्कृष्टलाई ५ लाख पुरस्कार दिने घोषणा समेत गरिसकेको छ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो सिनेमामा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको सिनेमामा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।