काठमाडौं : पूर्वी रुकुमको प्राकृतिक सौन्दर्य र स्थानीय परिवेशलाई पृष्ठभूमि बनाएर तयार पारिएको म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक भएको छ। प्रेम, वियोग र पीडाको कथालाई दृश्यमार्फत प्रस्तुत गरिएको फिल्म सामान्य गीतको भिडियोभन्दा फरक शैलीमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।
बिग नेपाली फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको छायांकन पूर्वी रुकुमका पाँचभन्दा बढी गाउँमा करिब सात दिन लगाएर गरिएको हो। रुकुमका डाँडाकाँडा, गाउँबस्ती र प्राकृतिक दृश्यलाई कथासँग जोडेर प्रस्तुत गरिएको छ।
गीतमा शान्तिश्री परियार र रबिन भुसालको स्वर रहेको छ। शब्द तथा संगीत रबिनकै रहेको गीतमा बिशाल नेपाली र गीता ढुंगानालगायतले अभिनय गरेका छन्। म्युजिकल फिल्मको निर्देशन बिशाल नेपालीले गरेका हुन्।
















